पवन साह, बिराटनगर
शुक्रबार पुष्टि भएको नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगर १५ का एक परिवारमा कोरोनाको लक्षण देखिएको विराटनगर माहानगरपालिकाले जनाएको छ ।
दुबईबाट दिल्ली हुँदै चैत ७ गते आएका युवामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका तीन युवालाई र उनको परिवारका अन्य ३ जनालाई विराटनगर १९ स्थित बैजनाथपुरमा रहेको क्वारेन्टाइनमा राखिएको छ । ती व्यक्तिमा कोरोनाको लक्षण नदेखिएपनि परिवारका अन्य तीन सदस्यमा ज्वरो तथा फिभर देखिएकोले सबैलाई क्वारेन्टाइनमा पठाइएको माहानगरपालिकाको जनस्वास्थ्य माहाशाखाका जनस्वास्थ्य निरीक्षक दिलिपकुमार यादवले जानकारी दिनुभयो ।
स्वास्थ्य निरीक्षक यादवको भनाइ अनुसार वडा नम्बर १५ को ३५/४० को उमेरको युवा विदेशबाट आएपछि जुन प्लेनबाट आउनु भयो त्यही प्लेनमा भएको कारण शंकास्पद भयो । घरमा आएपनि उहाँ आनन्दले हिंड्नुभयो । उहाँमा कुनै लक्षण नभएपनि उहाँको घर परिवारमा भाइरल फिभर देखियो । कतिपय लक्षणहरु कोरोनाजस्तो देखिन्छ । उहाँमा केही छैन तर, तीन जनामा संक्रमणको लक्षण देखियो । अनि हामीले उहाँ र परिवारका सदस्यहरुलाई बैजनाथपुरस्थित क्वारेन्टाइनमा पठाएका छौं । उहाँसहित ४ जना । उहाँ आएपछि कतिजनासँग भेटघाट गर्नुभयो, काहाँ काहाँ जानुभयो भन्ने विषयमा हामीले खोजी गरिरहेका छौं । उहाँबाट संक्रमण फैलिएको हुनसक्छ । उहाँको स्वास्थ्य जाँचका लागि स्वाब परीक्षण लिएर पठाइएको छ ।
दुबईबाट दिल्ली हुँदै आएका धनगढीका ३४ वर्षीय युवा काठमाडौंबाट बुद्ध एयरमा नेपालगञ्ज र बसमा धनगढी पुगेकोमा उनमा कोरोना भएको शुक्रबार पुष्टि भएको थियो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । त्यसैगरी चैत्र १५ गते आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । आज पून एक जनामा संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमण पाँच पुगेको हो ।
स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षण पोजेटिभ देखिएको जनाएको हो ।
बेल्जियमबाट कतार हुँदै काठमाण्डौं आएकी बागलुङ निवासी १९ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयल जनाएको हो । उनको अन्य विवरण भने जानकारी गराइएको छैन ।
उनी चैत ४ गते कतार एयरवेजको क्युआर ५२५ उडानमार्फत् काठमाडौं आएको खुलेको छ । यसअघि फ्रान्सबाट कतार हुँदै आएकी काठमाडौंकी युवतीमा कोरोना देखिएको थियो । उनी अहिले टेकु अस्पतालमा उपचाररत छिन्।